बिरगंज,३०पुष
बिरगंजमा थारु समुदाय द्वारा यसपाली पनि खिंचडी समारोहको आयोजना गरिएको छ।
थारु सम्बत २६४७ एंव खिंचडी (माघी) पर्ब बिरगंजमा भव्यताका साथ मनाउने भएको छ । माघ १गते आईतबार खिंचडी (माघी) मूल समारोह समिति द्वारा वीरगन्जको आदर्शनगर स्थित पुरानो बसपार्कको परिसरमा माघी समारोहको आयोजना गरिएको हो।
नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्षमा आज पत्रकार सम्मेलन गरी माघी मूल समारोह समितिले आईतबार आयोजना गरिएको खिंचडी (माघी) समारोहका बारेमा जानकारी दिएको हो।
खिंचडी समारोहमा आइतबार रक्तदान कार्यक्रम , थारु सांस्कृतिक झलक (घाटो, समाचकेवा, झम्टा नाच) प्रस्तुती आयोजना गर्नुका साथै महोत्सवस्थलमा थारु, मधधेसी , नेवार , मारवाडी ,मैथली समुदायमा लोकप्रिय रहेका खानाका विभिन्न परिकारहरुको स्टल पनि राखिने कार्यक्रमका संयोजक रामसुन्दर चौधरीले जानकारी गराए । खाना स्टलमा घोङ्गी, केकडा(गंगटो) , माछा, हाँस, कुखुरा र परेवाको मासु , चिचर , तिल र भुजाको लड्डु इत्यादिका परिकारहरु प्रदर्शनी र बिक्रीका लागि राखिने समितिले जनाएको छ ।
रौतहटको गुजरा नगरपालिकाको लक्ष्मी प्राविका जग्गादाता एंव समाजसेवी लक्ष्मी चौधरीको प्रमुख आतिथ्यता एंव रामसुन्दर चौधरीको संयोजकत्वमा आयोजना गरिएको माघी महोत्सवको आईतबार बिहान ११बजे घण्टाघर चोकबाट प्रभातफेरि निकालिने समितिले जनाएको छ।