बिरगंज, १९पुष
बिरगंजमा मधेश प्रदेशस्तरीय नमुना सयुँक्त राष्ट्र युवा सम्मेलनको आयोजना गरिएको छ । अमेरिकी दूतावाससँगको सहकार्यमा वैचारिक युवा समाजले ३ दिने प्रदेशस्तरीय नमुना सयुँक्त राष्ट्र युवा सम्मेलनको आयोजना गरेको हो ।सम्मेलनलाई प्रतिनिधि सभा सदस्य प्रभु हजरा र नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले सयुँक्त रुपमा उद्घाटन गरेका थिए । ३दिने सम्मेलनलाई सम्बोधन गर्दै सांसद हजराले युवाहरुको एकरुपताले नै परिवर्तन सम्भव हुने बताए । युवा नेतृत्वदायी स्थानमा पुग्नका लागि यस्ता सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्नु र युवालाई अगाडी बढाउन सकरात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए । युवा सशक्तीकरणका लागि आफु सँधै प्रतिबद्ध रहेको सांसद हजराको भनाई थियो ।
हरेक किसिमका परिवर्तनकारी अभियान एवम् आन्दोलनहरुमा युवाहरुको सक्रियता साथै महत्वपूर्ण भूमिका रहेको नेपाल पत्रकार महासंघ पर्साका सभापति अनुप तिवारीले बताए थिए। उनले
देश विकासका आधार पनि युवा नै भएको दावी गरे । अथाह सम्भावना र क्षमता भएका युवा शक्तिलाई देशले सही ढंगले परिचालन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै सभापति तिवारीले सरोकारवालालाई झकझक्याउनका लागि पनि युवा एकताको आवश्यक्ता रहेको बताए।
सम्मेलनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुबाट सँगै गोर्खा, कास्की पोखरा लगायतका स्थानबाट पनि युवाहरु सहभागी भएका छन् । वीरगञ्जबाट अखिल पटेल, सरन गुप्ता, आदर्शशुभम कर्ण लगायत विभिन्न जिल्लाबाट उपस्थित सहभागीहरुले विकास तथा परिवर्तनसँगै नीति एवम् कानुनी जटिलतासहित विभिन्न अजेण्डाहरुमा आधारित भएर बहस एवम् छलफल गर्दै कार्यविधि बनाउनेछन् ।
शिक्षासँगै विकासको दृष्टिकोणमा पनि पछाडी रहेको मधेश प्रदेशका घटनाक्रममा आधारित भएर सहभागीहरुले छलफल गर्नेछन् । यहाँका समस्या, चुनौतीसँगै सम्भावनाका विषयमा छलफल हुनुका साथै बहुपक्षित कुटनीतिक परिवेशका विषयमा पनि सम्मेलनमा चर्चा हुने सम्मेलनका संयोजक दिलिप हजराले जानकारी दिए ।
वैचारिक युवा समाजले आफ्नो सञ्जाल विस्तार गर्न र युवाहरुको क्षमता अभिवृद्धि एवम् व्यक्तित्व विकासका निमित्त सम्मेलनको आयोजना गरेको हजराले बताए । युवा सम्मेलन उद्घाटन सत्रको सहजीकरण सञ्चारकर्मी एवम् सम्मेलनका डाइरेक्टर विवेक कर्णले गरेका थिए ।स्रोत यात्रा डेली