वीरगंज,साउन २६
७ करोडको बजेट किर्ते गरी टेण्डर गरेको घटनामा आफ्नो कुनै संलग्नता नभएको पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सल्मा खातुनले स्पष्ट पारेकी छिन् ।
मंगलवार एक प्रेस विज्ञप्ती जारी गर्दै उपप्रमुख खातुनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम पालिकाका आर्थिक गतिविधि, टेन्डरलगाएतको विषयमा सुरुदेखि कुनै किसिमको सहभागिता नरहेको जानकारी गराएकी छिन् ।
पोखरिया नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत लगायतको मिलेमतोमा ७ करोडको बजेट किर्ते गरी टेण्डर गरेको भन्ने समाचारमा आपत्ति जनाउँदै उपप्रमुख खातुनले आफ्नो संलग्नता नरहेको र उक्त टेण्डरको बारेमा आफुलाई कुनै जानकारी नै नभएको बताईन् ।
विगतदेखि नै नगरपालिकाको ढिलासुस्ती, अपारदर्शीता, अनियमितता, गैरजिम्मेवार लगायतको विरुद्धमा सशक्त रुपमा आवाज उठाउँदै आएको बताउँदै खातुनले कुनै पनि अनियमितता र आर्थीक हिनामिना भएमा निष्पक्ष रुपमा छानविन हुनुपर्ने विज्ञप्तीमा उल्लेख गरेकी छिन् । आफुले सदैव निष्पक्ष, इमान्दार एवम् पारदर्शी जनप्रतिनीधि बन्ने र जनताका समस्या तथा आवाजहरुलाई उठान गर्ने प्रयत्न हरसम्भव गरीरहेको दावी गरेकी छिन् ।
पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तात्वाले ३० प्रतिशत कमिशनको मिलेमतोमा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत अमित गिरीको डिजाईनमा प्रमुख दिपनारायण रौनियार, उपप्रमुख खातुन सहितको संलग्नतामा ७ करोडको किर्ते योजनामा टेण्डर भएको आरोप लगाएर पोखरियाका युवाहरुले विरोध समेत जनाएका थिए ।