काठमाडौं, असार ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
संसदका सवैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेको सहमतिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । यसपटकको नियुक्तिसँगै प्रधानमन्त्रीको रूपमा ओलीको यो चौथो सिंहदरबारको यात्रा हो । चौथो पटक प्रधानमन्त्री बन्नुभएका ओली यसअघि २०७८ साल असार २८ गते सर्वाेच्च अदालतको परमादेशबाट पदमुक्त हुनुभएको थियो ।
अदालतले परमादेश दिएर प्रधानमन्त्रीबाट पदमुक्त हुनुभएका ओली तीन बर्षपछि असार २८ गते नै प्रधानमन्त्रीमा दावी पेश गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको बिशेष आग्रहमा राष्ट्रपति पौडेलले असार २८ गते शुक्रवार नै ओलीलाई प्रधानमन्त्री नियुक्त नगरी आज गर्नुभएको हो । स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले राष्ट्रपति बनाउन गरेको योगदानको गुण तिर्नका लागि भए पनि ओलीलाई आइतवार मात्र प्रधानमन्त्री नियुक्त गर्न भन्नुभएको थियो ।
सोही कारण गुण तिर्दै राष्ट्रपति पौडेलले शुक्रवार नै नियुक्तिको तयारी भएपनि आज मात्रै नियुक्त गर्नुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीको पद तथा गोपनीयताको शपथ सोमबार बिहान ११ बजेका लागि तय भएको छ ।
कांग्रेसका ८८ सांसदको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीको दाबी पेश गर्नुभएको थियो । कांग्रेस–एमाले गठबन्धनलाई जसपा, जनमत पार्टी, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ । कांग्रेस र एमालेले ओलीको शपथ लगत्तै साना दलहरूलाई पनि साथ लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।
एमाले अध्यक्ष ओली पहिलो पटक २०७२ साल असोज २४ मा प्रधानमन्त्री बन्नुभएको थियो । त्यसबेला १० महिना सरकारमा रहनुभएका ओली ०७४ मा एमाले–माओवादीबीचको वाम गठबन्धन बनाएर दुई तिहाइनजिक बहुमत ल्याएपछि २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री हुनुभएको थियो ।
तत्कालीन नेकपाभित्रको विवाददेखि संसद विघटनसम्मको अवस्थामा ओलीले तीन वर्ष शासन गर्नुभयो । त्यही विवादको क्रममा प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेर ७८ वैशाख ३० देखि असार २९ सम्म प्रधानमन्त्री बन्नुभएको थियो ।
सर्वोच्च अदालतले ओलीले गरेका प्रतिनिधिसभा पुनः स्थापना गर्दै कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि सत्ताविमुख हुनुभएको थियो । सत्ताबाट बहिर्गमन भएको ठीक तीन वर्षपछि ओली पुनः सत्तामा फर्किनुभएको हो । साभार जनताटाइम्स