काठमाडौं, असार १८ । संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमवार राती सहमतिपत्रमा हस्ताक्ष गरेसँगै दुवै नेता मध्यराती नै नेताहरुसहित मध्यरातमा राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेर राष्ट्रपति रामचन्दै पौडेलसँग भेट गर्नुभएको छ । कांग्रेस–एमाले मिलेर एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएसँगै दुई दलका नेता राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुग्नुभएको हो ।
कांग्रेसका तर्फबाट सभापति देउवासहित नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरू शीतलनिवास जानुभएको हो । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उहाँहरू शीतल निवास पुग्नुभएको हो ।
यसअघि २०७९ पुस १० मा देउवाले संसद्को पहिलो दलको हैसियतमा संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्ने योजना बनाएपछि कांग्रेस र एमालेको सत्ता सहकार्यको प्रयासमा ब्रेक लागेको थियो । कांग्रेस पृष्ठभूमिका राष्ट्रपति पौडेललाई विश्वासमा लिएर एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिन चाहेको छ ।
नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल कांग्रेस र एमालेबीच सोमवार राती ११ बजे सहमति भएको दुवै दलका नेताहरुले बताएका छन ।सोमबार मध्यरातमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले सहमति पत्रमा हस्ताक्षर गरिसक्नु भएको समेत ती नेताको भनाई छ । दुई दलबिच भएको वार्तामा सहभागी कांग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।
सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छ । सहमतिको ड्राफ्ट तयार गर्ने एक नेताले जनताटाइम्स डटकमलाई दिएको जानकारीअनुसार ’एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने र डेढ वर्षपछि देउवा प्रधानमन्त्री बन्ने’ पहिलो बुँदामा उल्लेख छ । यसैगरी ओली नेतृत्वको सरकारमा एमालेले अर्थ मन्त्रालयसहित ९ वटा मन्त्रालय र गृह मन्त्रालयसहित नेपाली कांग्रेसले १० वटा मन्त्रालय लिने उल्लेख छ ।
स्रोतका अनुसार एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति भएको छ । यसैगरी निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्ने सहमति पनि गरिएको बताइएको छ । साभार जनता टाइम्स