काठमाडौ, १७ असार
संसद्को प्रमुख दल नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छ ।
नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेकपा एमालेले छलफल तीव्र पारेका छन् । असार १५ मा कांग्रेस सभापति शेरबहादुर देउवा दही चिउरा खान बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासमा पुगेसँगै दुई दलबीच सत्ता सहकार्यका लागि छलफल अघि बढेको हो ।
सभापति शेरबहादुर देउवानिकट उच्च स्रोतले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरिएको बतायो ।‘देशमा बढ्दो निराशालाई चिर्दै राष्ट्रिय आत्मबल उकास्नका लागि दुई दल मिलेर सरकार बनाउनुपर्छ भन्ने प्रयास कांग्रेसले गरिरहेको छ,’ देउवानिकट स्रोतले भन्यो, ‘कतिपय प्राविधिक कुराबाहेक धेरै विषयमा हामी सहमतिनजिक छौं ।’
राजनीतिक स्थिरताका लागि संविधान संशोधन, अर्थतन्त्र चलाययमान गराउने कार्यक्रमसहित नयाँ समीकरणको गृहकार्य भएको कांग्रेस नेताहरू बताउँछन् ।
सोमवार दिउँसो बस्ने पदाधिकारी बैठकमा सभापति देउवाले एमालेसँग भएको संवादबारे जानकारी गराउने छन् । कांग्रेस र एमालेबीच गत वैशाख पहिलो साता पनि नयाँ समीकरण बनाएर अगाडि बढ्ने समझदारी भएको थियो । तर, त्यो बेला उक्त प्रयास विफल भएको थियो ।
संसद्का केही साना दल (लोसपालगायत)लाई समेत सामेल गरेर नयाँ समीकरणको गृहकार्य चलिरहेको र एकदुई दिनमै ठोस सहमतिको सम्भावना रहेको स्रोतले बतायो ।
‘खासखास परिस्थितिमा कांग्रेस र एमाले मिलेर सरकार बनाएका छौं । कांग्रेस–एमाले मिल्दा २०७२ सालमा संविधान जारी गर्न सम्भव भयो,’ नयाँ गठबन्धनको औचित्यबारे ती नेताले भने, ‘देशमा बढ्दो अराजकता रोक्नका लागि पनि बलियो सरकार बनाएर जाऔं भन्ने समझदारी हो ।’
स्रोतका अनुसार अधिकांश विषयमा देउवा र ओलीले नै कुराकानी गरेका छन् । दोस्रो तहका नेताहरू पनि संवादमै छन् । कांग्रेस प्रचार विभागका प्रमुख मीन विश्वकर्माले कुराकानी सकारात्मक भए पनि सहमति भइनसकेको बताए ।
‘यो समीकरणबाट पार लाग्दैन भन्नेमा एमाले अध्यक्ष ओली पुगिसक्नुभएको छ, नयाँ समीकरणको प्रयास भइरहेको छ,’ विश्वकर्माले बताए । कांग्रेसको प्रस्तावबारे ओली ‘पर्ख र हेर’को अवस्थामै रहेको र निर्णय लिइनसकेको स्रोतले बतायो ।
ओली निकट स्रोतकै अनुसार शनिबार बालकोटमा देखिने गरी वार्ता भए पनि यस अघि अनौपचारिक रूपमा पटक–पटक देउवा र ओलीले छलफल गरेका थिए । ‘बालकोटमा शनिबार देखिने गरी वार्ता भयो । तर यस अघि दुवैले पटक–पटक भेटघाट गरिसक्नुभएको छ,’ ओली निकट स्रोतले भन्यो ।
तर सानादेखि स्वतन्त्र दलको बार्गेनिङ र दबाबलाई रोक्न, निराश नागरिकलाई सन्देश मिलेर जानुपर्ने दबाब कांग्रेस र एमालेभित्र धेरै नै भएपछि मिल्नुपर्ने स्थितिमा दुवै नेता पुगेको पार्टी निकट स्रोतको दाबी छ ।
पछिल्लो समय संविधान संसोधन गरेर भए पनि बलियो राजनीतिक प्रणालीमा देशलाई हिँडाउन, निर्वाचन प्रणालीमा फेरबदलको लागि कांग्रेस र एमालेका नेताहरू खुला बहस गर्दै आएका छन् । देउवा र ओलीबीचको छलफलमा यी विषय पनि आएका छन् ।
गृह र अर्थ लिएर सरकार चलाउन प्रस्ताव
कांग्रेसले महत्त्वपूर्ण मन्त्रालय गृह र अर्थ प्रधानमन्त्रीसँगै राखेर सरकार चलाउन प्रस्ताव गरेको सो स्रोतले बतायो । ‘प्रधानमन्त्रीले निर्धक्कसँग काम गर्न पाऊन् भन्नका लागि महत्त्वपूर्ण मन्त्रालय प्रधानमन्त्रीलाई नै राख्न दिएर जानेबारे समझदारी छ,’ स्रोतले भन्यो ।
गृह र अर्थ मन्त्रालयका कारण नै गठबन्धनमा खटपट आउने गरेको छ । फागुन २१ मा कांग्रेससँगको समीकरण भत्काएर एमालेसँग नयाँ समीकरण बनाउने बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महतललाई दोष लगाएका थिए ।
यसपटक पनि प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष ओलीले अर्थमन्त्री वर्षमान पुनको भूमिकाप्रति चरम असन्तुष्टि राख्दै आएका छन् । बजेट निर्माण गर्दा आफूसँग एकपटक पनि सल्लाह नगरेकोमा ओलीले संसदीय दलको बैठकमा मन्त्री पुनको कार्यशैलीप्रति आपत्ति जनाएका थिए ।
यस्तै, अर्थमन्त्रालय मातहतका निकायमा हुने नियुक्तिमा समेत मनोमानी गरिरहेको भन्दै एमालेको असन्तुष्टि थियो ।आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले मुलुक सधैँभरी यसैगरी नचल्ने बताएका थिए ।
पहिलो कार्यकाल एमालेले सरकार बनाउने र २०८४ सालको निर्वाचन गराउने गरी चुनावी सरकारको नेतृत्व कांग्रेसले लिने समझदारी भएको स्रोतले बतायो ।
राष्ट्रिय सहमतिको सरकारको प्रसंग
नयाँ समीकरणको गृहकार्य भएपछि प्रचण्ड र ओलीबीच तारन्तार छलफल भएको छ । दुई नेताबीच आइतबार सिंहदरबारमा लामो छलफल भएको थियो । सोमबार पनि ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।
शनिबार देउवा र ओलीबीच भएको भेटबाट सशंकित प्रचण्डले आइतवारको भेटमा ‘के हुन लागेको होे ?’ भनेर सोधेका थिए । ओलीले सामान्य भेटघाट मात्र भएको बताएका थिए । ओलीको जवाफपछि पनि प्रचण्ड आश्वस्त हुन सकेका छैनन् ।
सोमबारको भेटमा प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको स्रोतले बतायो । तर, ओलीले भने कुनै जवाफ नदिएको स्रोतको दाबी छ ।
मुलुकका समस्या समाधान गर्न सरकार असफल भएको र जनतामा निराशा बढेको ओलीको मूल्यांकन छ । त्यसैले उनी कांग्रेससँग गठबन्धन बनाउन राजी भएको कांग्रेस स्रोतहरू बताउँछन् ।
राजनीतिक स्थायित्वका लागि संविधान संशोधनमार्फत निर्वाचन प्रणाली फेर्नेबारे कांग्रेस र एमालेबीच लामो समयदेखि संवाद चल्दै आएको थियो । निर्वाचन प्रणाली सुधार गर्नुपर्नेमा दुवै दलको साझा धारणा छ ।
बूढानीलकण्ठ स्रोतका अनुसार बालुवाटारमा प्रचण्डसँगको भेटपछि पनि ओली र देउवाबीच टेलिफोन संवाद भएको छ । घटनाक्रममा नाटकीय ट्वीस्ट नआए छिट्टै नयाँ समीकरण बन्ने ती स्रोतहरूले बताएका छन् ।
२०७९ पुस १० मा पनि कांग्रेस र एमाले मिल्ने प्रयास भएको थियो । त्यतिबेला ओलीले देउवालाई बालुवाटार आउँछु भनेर बालकोटमा माओवादी, रास्वपा र राप्रपासहितको गठबन्धन बनाएका थिए ।