बिरगंज, २७ बैशाख
मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहिरिने तयारी गरेको छ।
समर्थन फिर्ता लिँदै दुवै दल बिहीबार नै सरकारबाट बाहिरिन सक्ने नेताहरूले दाबी गरेका छन्।
जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठनको तयारी भइरहेको छ।
माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बिहीबार बिहानै संसदीय दल नेता भरत साहलाई सरकारबाट बाहिरिन तयार भएर बस्न निर्देशन दिएको माओवादीका एक नेताले बताए ।
‘सरकारबाट आज नै हाम्रो पार्टी बाहिरिने सम्भावना छ। एमाले पनि बाहिरिन्छ,’ माओवादीका एक सांसदले बताए ।
सरकारबाट बाहिरिने विषयमा माओवादी संसदीय दलका नेता साह र एमाले संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवबीच मधेस भवनमा छलफल भइरहेको छ।
केन्द्रीय नेतृत्वबाट फोन आएपछि इमर्जेन्सी मिटिङ गर्नु पर्ने भनेर वहाँले छिटै कार्यक्रमबाट फर्किनु भयो। सरकारको नेतृत्व, स्वरूप लगायतका विषयमा दुई नेताबीच अहिले छलफल जारी छ। केही बेरमा निर्णय आउन सक्छ,’ एमालेका एक मन्त्रीले भने, ‘तत्कालका लागि सरकारबाट बाहिरिएर एमालेको नेतृत्वमै सरकार बन्ने अनौपचारिक सूचना आएको छ। जसपाबाट फुटेर बनेको नयाँ पार्टी, जनमत र लोसपा पनि नयाँ गठन हुने सरकारमा सहभागी हुन्छन।’
प्रदेशको ठूलो पार्टीको हैसियतमा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना रहेको एमालेका मन्त्रीको दाबी छ।
मधेसमा सरकार गठनका लागि ५४ जना सांसदको समर्थन चाहिन्छ। अहिले विकास भइरहेको राजनीतिक घटनाक्रम अनुसार एमाले, माओवादी, जनमत, एकीकृत समाजवादी र लोसपा मिलेको अवस्थामा सरकार बनाउन सहजै छ।
एमालेका २३, माओवादीका ९, लोसपाका ८, जनमतका १३, एकीकृत समाजवादीका ७ जना सांसद छन्। उपेन्द्र यादवबाट फुटेको नयाँ जसपाबाट भने कति जना सांसद रहेको खुलेको छैन !