वीरगन्जः वीरगन्जमा कुर्मी समुदायले चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मउत्सव मनाएको छ । समुदायले जन्मउत्सव कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा शोभा यात्रा निकालेर मनाएको हो ।
समुदायले आफु भगवान रामको वंशज रहेको खुशीमा रामनवमीको दिन प्रत्येक साल भगवान रामको जन्मउत्सव अर्थात रामनवमी महोत्सव हर्सोहुलासका साथ मनाउदैं गरेको हो । राम जयन्तीका नामले पनि परिचित रामनवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।
बुधवार समुदायले बिरगन्ज महानगरपालिकाको वडा नम्बर २४ रामगढवा स्थित कुर्मी सेवा सदनबाट शोभा यात्रा निकालेको थियो । भने शोभा यात्रा पावरहाउस, घण्टाघर, माईस्थान, आदर्शनगर, अलखिया मठ्ठ, गिता मन्दिर, हुदैं नगर परिक्रमा गरेर पुनः कुर्मी सेवा सदनमा पुगेर समापन्न गरिएको मञ्चका कोषाध्यक्ष राजेश पटेलले जानकारी दिए । उनले भगवान रामको जन्मदिनको अवसरमा आज देखी २४ घण्टे अष्ठजाम पुजा पनि सुरु भएको बताए ।
शोभा यात्राको क्रममा श्रद्धालूहरुले भगवान रामको झण्डा, गेरुवा बस्त्र लगाएर जय गंगे, जय कुर्मी, जय सियाराम, (एक हि नारा एक हि नाम)जय श्रीराम, जय श्रीराम, को नारा समेत लगाएका थिए ।
कुर्मी सशक्तिकरण मञ्च पर्साका जिल्ला अध्यक्ष दिपक कुर्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा सदस्य बिना जयसवाल, प्रदेश सभा सदस्य श्याम पटेल, कुर्मी सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी, कुर्मी समाजका बुद्धिजिवी शिव पटेल, लक्ष्मण कुर्मी, मोहनलाल कुर्मी, सुधिर पटेल, संतोष पटेल, रामानन्द पटेल, राजेश पटेल, माओवादी केन्द्रका नेता मनोज चौधरी, मञ्चका पदाधिकारी, सदस्यहरु लगायत ग्रामीण भेगबाट आएका हजारौंको संख्यामा जनसमुदायहरुको सहभागीता रहेको प्रवक्ता अनिल पटेलले जानकारी दिए ।