काठमाडौं, फागुन २२ । पुरानो गठबन्धन टुटेर नयाँ सत्ता समीकरण बनेसँगै मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन ४ राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ । नयाँ गठबन्धनमा सहभागी नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालबीच आज ८ बुँदे सहमति भएको हो ।
‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालका बीच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भई निम्नअनुसार निष्कर्षमा पुगेका छौं,’ सहमति पत्रमा भनिएको छ । सहमतिमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गर्नुभएको छ ।
सहमतिको पहिलो बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको महशुस गरी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालको सहभागितामा नयाँ संयुक्त सरकार गठन गर्ने र सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’गर्ने उल्लेख छ ।
यसैगर रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रका र उपाध्यक्षमा एमाले उम्मेद्वारलाई समर्थन गर्ने निर्णय भएको उल्लेख छ । यस्तै सहमतिमा सरकारमा सहभागी भएका दलहरूका बीचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने निर्णय भएको छ ।
यस्तै सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने सहमति भएको छ । सहमतिमा राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएको पनि उल्लेख छ । उनीहरुबीच सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बीचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने निर्णय गरेका छन ।
सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने निर्णय भएसँगै सोमबार प्रधानमन्त्री दाहालले कांग्रेस र नेकपा एकीकृत समाजवादीसहित सबै मन्त्रीहरूलाई हटाएर एमाले, माओवादी, रास्वपाका एक÷एक जनालाई साथमा लिएर नयाँ मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नयाँ गठबन्धन बनेपछि आज विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ ग्रहण गर्नुभएको हो ।