रौटहट, १ फागुन ।
नयाँ नेतृत्वको लागि भएको नेकपा एमाले रौतहटको अधिवेशनबाट अध्यक्षमा सचिदानन्द साह निर्वाचित हुनुभएको छ ।
साह १९३ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकिटम प्रतिद्वन्दी अखिलेश्वर चौधरी १७५ मतमात्र ल्याउन सक्नुभयो।
यस्तै उपाध्यक्ष पदमा रुपेश कुमार पटेल निर्वाचित हुनुभएको छ ।
उपाध्यक्ष पदमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्थ्यो । पटेलका निकटम प्रतिद्वन्दी सुरेश राई यादवले ८९ मत ल्याएर पराजित हुनुभयो । मनिलाल सहनीले ४४, चन्दन कुमार कुशवाहाले ३७, उपेन्द्र राई यादवले ३१, राम अशिष साह तेलीले १२ मत प्राप्त गर्नुभयो।
यस्तै सचिव पदमा बाबुराम दाहाल निर्वाचित हुनुभएको छ। दाहाल २०२ मत ल्याएर सचिव पदमा निर्वाचित हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्दी शिवप्रसाद आचार्य १४७ मत ल्याउनुभयो।
यस्तै उपसचिव पदमा अवधेशकुमार यादव निर्वाचित हुनुभएको छ। उपसचिव पदमा पाँच जनाको उम्मेदवारी रहेको थियो।
यादव १२९ मत ल्याएर निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्वन्दी अशोक कुमार पहाडीले ७५ मत प्राप्त गर्नुभयो। फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मतमात्र ल्याउनुभयो।
एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो।
सोमबार पार्टी कार्यालय गरुडामा बिहान १० बजेबाट दिउँसो २ बजेसम्म मतदान भएको थियो। निर्वाचनमा कुल ४ सय २६ मतदाता मध्ये ३९१ मतमात्र खसेको थियो।