बिरगंज, २६ माघ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने बताउनुभएको छ । आज नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टीले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुन नसक्ने स्पष्ट देखिएको बताउनुभएको हो ।
अध्यक्ष ओलीले देशमा अब गठबन्धनको नभइ जनताको सरकार बनाउनुपर्ने बताउनुभयो । उहाँले एमाले सरकार बनेमात्र देश र जनताको सरकार हुन सक्ने भन्दै आगामी चुनावपछि एमालेको सरकार बन्नेगरी लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मिसन ८४ जसमा हामीले यस देशमा जनताको सरकार बनाउनुपर्नेछ, गठबन्धनको होइन, एमालेको बहुमतसाथ सरकार बनाए मात्रै त्यो सरकार देशको, जनताको, विकासको र सुशासनका लागिको सरकार हुन सक्दछ, तसर्थ मिसन ८४ लाई ध्यानमा राखेर, आन्तरिक एकता कायम गरेर, संगठन विस्तार गरेर, पार्टी सदस्यता विस्तार गरेर, जनसंगठनका सदस्य विस्तार गरेर, कमिटी विस्तार गरेर, कमिटीलाई परिचालन गरेर काम गर्नुस् ।’
उहाँले जनताको बीचमा जान, सचेत र संगठित गर्न पनि नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीका गतिविधिलाई सक्रिय बनाएर देश र जनताका लागि काम गर्दै अघि बढेपछि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिने अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तपाइँहरु जनताको बीचमा जानुस्, जनतालाई सचेत गर्नुस्, संगठित गर्नुस्, विभिन्न तत्वले भ्रम फिँजाउन सक्दछन्, अन्यौल सृजना गर्न सक्दछन्,त्यसबाट जनतालाई मुक्त गर्नुस्, र सचेत जनता बनाएर संगठित गरेर जनतालाई परिचालित गर्नुस्, जसले गर्दा समृद्ध नेपाल सुखी नेपाली बनाउने नेपाली जनताको राष्ट्रिय आकांक्षा पूरा गर्न सकिन्छ ।’
नेकपा एमालेले सरकारमा छँदा रौतहटसँगै समग्र मधेशको विकासका लागि काम गरेको उहाँले स्मरण गराउनुभयो । काम अगाडि बढाइएकै बेला आफूहरु सरकारबाट हट्नुपरेको अध्यक्ष ओलीले बताउनुभयो ।