बिरगंज माघ १५
पर्साको सखुवाप्रसौनी गाउँपालिकामा वडास्तरीय क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । सखुवाप्रसौनी गाउँपालिकाको सहयोग र सोलखपुर क्रिकेट कल्ब को आयोजनामा भएको टी– २० क्रिकेट टुर्नामेन्टको एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष जसवन यादवले ब्याटिङ गर्दै उद्घाटन गरेका छन् ।
प्रमुख अतिथि रहेका अध्यक्ष यादवले उद्घाटन गर्दै अबका युवाहरुलाई खेलकुदमा मात्र आवश्यकता नभइ देश चलाउनमा पनि युवाको आवश्यकता रहेको बताए । युवाहरुलाई खेलकुदको साथै रोजगारीको पनि जरुरी रहेको अध्यक्ष यादवले बताए ।
उनले प्रदेश सरकारले प्रदेशमा खेलाडीहरु उत्पादन गर्न नसकिरहेको र खेलाडीहरुसँग भेदभाव गरी खेलाडीहरुको ऊर्जा र मनोबललाई समाप्त गर्ने खेल गरिरहेको आरोप लगाए । प्रदेश सरकारले कमाइ खानेबाहेक राम्रो काम गर्न नसकिरहेको र त्यसै कारण प्रदेश नेतृत्वमा युवाहरुको जरुरी रहेको उनले बताए ।
अगामी दिनमा सखुवाप्रसौनी गाउँपालिकाका युवाहरुलाई खेलकुद, कुश्तीलगायतमा प्रशिक्षण दिलाएर अगाडि बढाउने उनले प्रतिबद्धता जनाए । युवाहरुको खेलकुदको माध्यमबाट शारीरिक र मस्तिष्क विकासका साथै गाउँपालिकाको नाम देश विदेशमा हुने उनले बताए । वडा नं ४ सोलखपुरमा भएको टी– २० क्रिकेट टुर्नामेन्टमा एकडेरवा र डकैलाबहुवरीबीच भएको थियो ।
उक्त खेलमा एकडेरवा क्रिकेट टिमले टस जितेर पहिला फिल्डिङ रोजेको थियो भने डकैलाबहुवरी टिमले ब्याटिङ गर्दै सबै विकेट गुमाई ४५ रन बनाएको थियो । त्यसको जवाफमा मा उत्रेको एकडेरवा टिमले ८ विकेट उमाउँदै ४६ रन बनाएर जित हासिल गरेको छ । आजको खेलको मेन अफ दी म्याच बिकेश ठाकुरले जितेका छन् ।
सोलखपुरमा भएको टी– २० क्रिकेट टुर्नामेन्ट खेलको अध्यक्षता जैनोदिन अन्सारीको रहेको थियो । खेलमा वडाध्यक्ष महम्द आरिफ, चन्दन सहनी, शिव ओझैया, खलिल मियाँ, मुसा भाइ लगायतको सहभागिता रहेको थियो । भोलिको खेल सोलखपुर र ओराहाबीच हुने चन्दन सहनीले बताए ।