वीरगन्ज, माघ ११
वीरगञ्जमा पर्साको अर्थ सामाजिक रुपान्तरण सम्बनधमा अन्तरसंवाद सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले वीरगञ्ज उद्योग वाणिज्य संघसँगको संयोजकत्व र न्यू बिजनेश एज।प्रा।लि।को सहजीकरणमा कार्यक्रमको आयोजना गरेको हो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालको अध्यक्षतामा भएको अन्तरसंवादलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेमानीले मधेशलाई समृद्ध बनाउने सम्भावनाहरुको खोजी गर्नुपर्नेमा जोड दिए ।
उद्योग, वाणिज्य, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, संस्कृति लगायतका क्षेत्रको सुधारले नै समृद्धि हासिल गर्न सकिने अध्यक्ष टेमानीको भनाई छ । मधेशलाई समृद्ध बनाउनका लागि एउटा जिल्ला मात्रै समृद्ध भएर सम्भव नहुने उनले बताए । यि सबै क्षेत्रमा पर्सा जिल्लाको योगदानलाई पनि मूल्यांकन गरेर कुन अवस्थामा छौँ भन्ने पत्ता लगाई त्यसको समिक्षा गर्नुपर्ने उनको धारणा छ ।
उद्योगी व्यवसायीको मात्रै प्रयासले समृद्धिको लक्ष्य हाँसिल गर्न नसकिने बताउँदै उनले सबै सरोकारवालाको उत्तिकै भूमिका हुनुपर्ने आवश्यक्ता औँल्याएका छन् । आर्थिक राजधानी भनिने वीरगञ्जको विशेषता र यहाँको सम्भावनालाई सरकारले चिन्न नसकेकोमा चिन्ता व्यक्त गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका टेमानीले अब वीरगञ्जबासी जाग्नुपर्ने बेला आएको बताए ।
पशस्तै सम्भावना हुँदाहुँदै पनि विकासको दृष्टिकोणले पछाडी पर्नु राज्य र सरोकारवालाको उदासिनता नै भएको उनको ठम्याई छ । सरकारको प्राथमिकतामा पर्सा र मधेश पर्न नसक्नु र मधेशलाई सँधै सहानुभूतिको दृष्टिले हेर्ने दृष्टिकोणलाई नफेर्दासम्म विकास हुन नसक्ने उनको जिकिर छ ।
कार्यक्रममा वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थी, न्यू विजनेस एजका अध्यक्ष मदन लम्साल, मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा। दीपक शाक्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा वीरगञ्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष डा। सुवोध कुमार गुप्ता, नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका निवर्तमान अध्यक्ष गणेश प्रसाद लाठ, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतम, उपाध्यक्ष माधव राजपाल लगायतले मधेशलाई समृद्ध बनाउने सम्भावनाको चर्चा गरेका थिए ।