वीरगन्ज, माघ ४
रामेछापको दुर्गमा गाउँका विद्यालयहरूमा छात्रावासको व्यवस्था भएपछि विद्यार्थीहरूलाई राहत भएको छ ।
जिल्लाको दुर्गम हिमाली क्षेत्र उमाकुण्ड गाउँपालिका–१ गुम्देलको महालंगुर माविले विद्यालयमा पढ्ने विद्यार्थीको लागि छात्रावास सञ्चालनमा ल्याएको छ । विद्यालयले यही शैक्षिकसत्रबाट टाढा विद्यार्थीहरूका लागि छात्रावास सञ्चालनमा ल्याएको हो । त्यस्तै, उमाकुण्ड गाउँपालिकाको वडा नं २ मा रहेको सिद्धेश्वर मावि बाम्तीमा पनि विद्यालयमा नै छात्रावासको व्यवस्था गरिएको छ । घण्टौँ हिँडेर विद्यालय आउनुपर्ने बाध्यता रहेका विद्यार्थीको समस्याको अन्त्य गर्न विद्यालयमा छात्रावास सञ्चालनमा ल्याएको जनाएको छ ।
बाम्तिमा ‘हिमाली आवासीय आवासीय छात्रावास कार्यक्रम’ अन्तर्गत प्राप्त बजेटबाट छात्रावासको लागि आवश्यक पूर्वाधार निर्माण गरिएको हो । गुम्देलमा भने गाउँपालिकाको सहयोगमा आवश्यक पूर्वाधार निर्माणको काम भएको हो ।
पहिलो चरणमा सबैभन्दा दुर्गमबाट विद्यार्थी आउने विद्यालयमा छात्रावास निर्माण गरिएको उमाकुण्ड गाउँपालिका शिक्षा शाखाका ङावा शेर्पाले जानकारी दिनुभयाे ।
महालंगुर मावि गुम्देलको छात्रावासमा अहिले १९ जना छात्रा–छात्र बस्दै आएका छन् । सो वडाको लाहाछेवर लगायतका माथिल्लो भेगका विद्यार्थी छात्रावासमा बसेर अध्ययन गरिरहेका शेर्पाले बताउनुभयाे । ‘चौँरी गोठमा बस्ने अभिभावकका बालबालिका तथा विद्यालयबाट टाढा रहेका लाहाछेवर लगायतका क्षेत्रका बालबालिका छात्रावासमा नै बसेर पढिरहेका छन्’, शेर्पाले भन्नुभयाे। त्यस्तै सिद्धेश्वर माविको छात्रावासमा पनि २० जना विद्यार्थी बसेर अध्ययन गरिरहेका छन् । सो विद्यालयको छात्रावासमा पनि टाढाका विद्यार्थी बस्दै आएका छन् ।
गाउँपालिकाले छात्रावासको सरसफाइ तथा क्याण्टिन सञ्चालनको लागि एक–एक जना महिला र पुरुष कर्मचारी व्यवस्थापन गरेको छ । न्यूनतम शुल्क लिएर विद्यार्थीलाई क्याण्टिनमा खाना, खाजाको व्यवस्था गरिएको छ । अति विपन्न विद्यार्थीलाई विद्यालय व्यवस्थापन समितिले निःशुल्क बस्ने व्यवस्था मिलाएको छ ।
गाउँपालिकाले गाउँपालिकाका ६ वटा मध्ये कम्तीमा चारवटा वडाका एक–एकवटा विद्यालयमा छात्रावास सञ्चालन गर्ने योजना बनाएको छ । वडा नं ४ को चण्डेश्वरी मावि प्रीति र वडा नं ६ को कैलेश्वर माविमा पनि छात्रावास सञ्चालन गर्ने योजना गाउँपालिकाको छ ।
यसरी विद्यालयमा छात्रावास सञ्चालन गर्दा टाढाका विद्यार्थीले विद्यालयमा नै बसेर पढ्न पाउने भएकोले बसाई सहज हुने र पढाइको गुणस्तर सुधारमा पनि सहयोग पुग्ने विश्वास गाउँपालिकाको छ ।