वीरगन्ज, असोज ११
नेकपा एमाले मधेश प्रदेश कमिटीले आफनो पहिलो अधिवेशनको मुख्य नारा र लागो सार्वजनीक गरेको छ । जनकपुरमा पत्रकार सम्मेलन मार्फत लोगो र मूख्य नारा सार्वजनीक गरेको हो ।
सामाजिक न्याय र सुशासन एमालेको कार्यभार ,मधेशको स्वाभिमान र समृद्धिको लागि एमालेको सरकार भन्ने मुख्य नारा प्रथम अधिवेशनको मुख्य नारा तय गरिएको नेकपा एमालेका मधेश प्रदेशका अध्यक्ष रामवतार यादवले जानकारी दिए ।
पत्रकार सम्मेलनमा लोगो सार्वजनीक गर्दै नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले मधेशको आर्थिक र सामाजिक समृद्धिका लागि एमालेकै सरकार अनिवार्य रहेको बताएका छन । उनले एमाले नेतृत्वकै सरकारबाट मुलुक, प्रदेश र स्थानीय तहले सहजरुपमा जनताका लागि आर्थिक समृद्धि, सामाजिक न्याय र समानताको प्रत्याभूती गर्ने बताए । एमाले सचिव भट्टराईले भने, ‘गएको पाँच वर्षमा कुनै पार्टीको मुख्यमन्त्री र यो एक वर्ष अर्कै पार्टीको मुख्यमन्त्रीले के कति जनताका लागि काम गरेको छ, विकासको काम गरेको छ, जनताको सुशासन र सामाजिक न्यायका लागि काम गरेको छ, हामीले देख्यौँ, त्यही भएर अब आउने निर्वाचनमा एमालेको सरकार निश्चित छ । ’उनले ०८० साल एमालेका लागि संगठन निर्माण वर्षको रुपमा रहेको बताउँदै सचिव भट्टराईले अबको एमालेको मिसन आफ्नो संघदेखि प्रदेशसम्ममा एमालेको बहुमतको सरकार हुने दावी गरे ।
एमालेको मधेश प्रदेश कमिटीको प्रथम अधिवेशन यही असोज २४ देखि २५ गतेसम्म दुई दिवसीय हुने जानकारी एमाले मधेश प्रदेशका अध्यक्ष रामऔतार यादवले दिए । उनले जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा हुने प्रदेश अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए । उनले यस समारोहमा विभिन्न सांस्कृतिक झाकी, स्थानीय भेषभुसा, बाजागाजा र सांस्कृतिक टोलीले प्रस्तुती गर्ने बताए ।
अधिवेशनमा मधेश प्रदेशको ८ वटै जिल्लाबाट एक हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने उनले बताए । महिला र युवालाई विशेष प्राथमिकता दिइने समेत उनले बताए । एमाले मधेश प्रदेशको तयारी तथा व्यवस्थापनका लागि चरणवद्धरुपमा कामहरु भइरहेको बताउँदै यसका लागि प्रचारप्रसार, प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, समिति तथा विभिन्न उपसमितिहरुसमेत गठन गरिएको छ । एमालेले मधेश प्रदेशको अधिवेशनका लागि सार्वजनिक गरिएको लोगोमा सांस्कृतिक एवं धार्मिक विविधताको सम्मान, उद्योग, कृषि, पर्यटनजस्ता क्षेत्रमा तिव्र विकासको आवश्यकतालाई उजागर गरिएको एमालेले जनाएको छ ।