वीरगन्ज, असाढ ९
बाराको परवानीपुर गाउँपालिकाको १२ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ ।
गाउँ सभा परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षेत्रीप्रसाद कुर्मीको अध्यक्षाता र नेकपा एमालेकी बारा क्षेत्र नं ३ की सांसद् एवं पूर्वकृषिमन्त्री ज्यालाकुमारी साहको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै झन्डै ३६ करोड रुपैयाँको बजेट लाएको छ । गाउँपालिकाले गाउँसभाबाट चालू आर्थिक वर्षको प्रगति विवरण पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि ३५ करोड ७७ लाख ४४ हजार रुपैयाँको आय विवरणसहित बजेट पारित गरिएको हो । केन्द्र सरकारले विभिन्न अनुदानमा कटौती गरेपछि परवानीपुर गाउँपालिकाको आगामी आवको बजेट पनि घटेको प्रमुख प्रशासकीय अधिकृत मुन्नासाह रौनियारले बताए । गाएँपालिकाकी उपाध्यक्ष सुगन्धीदेवी कनुइनले प्रस्तुत गरेकी बजेटमा शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकता, सीपमूलक कार्यक्रमबाट दक्ष जनशक्ति उत्पादन गर्ने, सिंचाइ, खानेपानी, भौतिक संरचनालगायतका योजनाहरूमा विशेष जोड दिएको बताइन् । आगामी बजेटमा सङ्घ सरकारबाट वित्तीय समानीकरणमा ९ करोड ६३ लाख, सशर्त अनुदान चालूतर्फ ९ करोड ४५ लाख, सङ्घीय सशर्त अनुदान पूँजीगततर्फ ७० लाख, सङ्घीय सरकार समपूरक अनुदान ५० लाख, सङ्घीय विशेष अनुदान १ करोड प्राप्त भएको छ भने प्रदेश सरकारबाट वित्तीय समानीकरणमा ६७ लाख ९९ हजार, प्रदेश समपूरक अनुदान २० लाख, प्रदेश विशेष अनुदान ३० लाख, सङ्घीय राजस्व बाँडफाँड ६ करोड ३१ लाख ४५ हजार, आन्तरिक स्रोत अनुमानित ५ करोड, २०७९/८० को नगद मौज्दात २ करोडलगायत गरी ३५ करोड ७७ लाख ४४ हजारको अनुमानित बजेट पारित भएको छ ।
कार्यक्रममा बारा क्षेत्र नं ४ (१)का प्रदेश सांसद देवनारायण चौधरी, राप्रपाका मोहन यादव, स्थानिय अगुवा शिवशङ्कर पटेल, लोसपा नेता जगतनारायण महतो, माओवादी नेता लालबहादुर पटेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।