वीरगन्ज,२९ फागुन
कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को तेस्रो खेलमा गोरखा फुटबल एकेडमी,सर्लाही विजयी भएको छ ।
परवानीपुर युथ क्लब वीरगञ्ज २१ परवानीपुरको आयोजनामा परवानीपुर खेल मैदानमा गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई गोरखा फुटबल एकेडमी,सर्लाहीले हराएको हो ।
प्रतियोगिता अन्तर्गत आज भएको खेलमा हेटौडा फुटबल एकेडमी मकवानपुरलाई ०–१ गोल अन्तरले पराजित गर्दै गोरखा फुटबल एकेडमी,सर्लाही विजयी भएको आयोजक क्लबका सचिव ध्रुप मण्डलले जानकारी दिए ।
खेलको म्यान अफ दि म्याच गोरखा फुटबल एकेडमी,सर्लाहीका जर्सी नम्बर १० का खेलाडी समिर लामाले पाएका थिए । उनलाई नेकपा एमाले वीरगन्ज महानगर कमिटिका अध्यक्ष राजेन्द्र यादवले नगद ५ हजार र ट्रफि प्रदान गरेका थिए । ९० मिनेटको निर्धारित समयको पहिलो हाफ सम्ममा दुवै टिमले विना गोलको बराबरी खेलेका थिए ।
त्यसपछि दोस्रो हाफको मध्यान्तरमा गोरखा फुटबल एकेडमी,सर्लाहीका जर्सी नम्बर १० का खेलाडीले समिरले गोल गर्दै अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा जवाफी प्रदर्शन गर्दापनि हेटौडा फुटबल एकेडमी महवानपुरका खेलाडीले गोल गर्न सकेनन् । त्यसपछि खेललाई गोरखा फुटबल एकेडमी,सर्लाहीले आफ्नो पक्षमा पार्न सफल भएको थियो । प्रतियोगितामा मधेश प्रदेशका ६ वटा र बागमती प्रदेशका दुई वटा गरी ८ टिमको सहभागी छन् ।
प्रतियोगिता चैत ४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ७५ हजार नगद शिल्ड तथा मेडल प्रदान गरिने आयोजक परवानीपुर युथ क्लबले जनाएको छ ।