वीरगञ्ज, २९ फागुन
हरेक राजनीतिक आन्दोलनका नाराहरु घन्किने वीरगञ्जको घण्टाघरमा आइतवार फरक नारा चर्किए । दलित भएकै कारण महायज्ञमा प्रवेश निषेध गरेको विरोधमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौका दलित समुदायले छुवाछुत र विभेदका विरुद्ध नाराबाजी गरे । ‘हिन्दूद्वारा हिन्दूमाथि विभेद, हिन्दूको शोषण हिन्दू, हिन्दू एकता जिन्दावाद, दलित एकता जिन्दावाद, दलित समुदायसँग अत्याचार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर दलित समुदायले नाराबाजी गरेका हुन् ।
साढे २ दशकपछि आगामी चैत ८ गतेदेखि हुन लागेको शतचण्डी महायज्ञमा प्रवेश गर्न नदिएको भन्दै अलौका दलित समुदाय आन्दोलनमा उत्रिएका हुन् । ‘२५ वर्षअघि महायज्ञ हुँदा हामी सानै थियौँ, त्यो बेला केही थाहा थिएन, हाम्रा अग्रजहरुले पनि सामान्य जस्तै सोचेर चुप लागे । तर अब हामी सचेत छौँ, चुप लागेर बस्दैनौ’ अलौका स्थानीय कृष्ण रामले भने । त्याहाँका गैरदलित समुदायले दलितलाई सँधै गिराउने र हेप्ने गरेको हुँदा अब सहेर नबसी कानुनी प्रक्रियामा जाने कृष्णको भनाई छ ।
महायज्ञमा दलित समुदायलाई पनि प्रवेश गर्न दिनुपर्छ भनेर १ महिनादेखि निरन्तर आवाज उठाएपनि शतचण्डी महायज्ञ मूल आयोजक समितिले बेवास्ता गरेपछि आन्दोलन गर्न बाध्य भएको अलौ निवासी ५६ वर्षीय खुबलाल महराले बताए । महायज्ञस्थल निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलित समुदायलाई नै चौका (महायज्ञमा पूजा गर्ने ठाउँठाउँ) मा प्रवेश गर्न नदिनुले अन्याय भएको महराको भनाई छ । अरु सबै काम गर्नु तर चौकामा नबस्नु भन्ने गैरदलितको प्रतिक्रियामाथि आपत्ती जनाउँदै उनले भने, ‘सबै काम हामीले नै गर्ने अनि चौखामा बस्न नदिने रु हिन्दू धर्मकै यज्ञमा हामी हिन्दूलाई नै वञ्चित गर्नु कहाँको धर्म हो भन्दै महराले प्रश्न गरे ।
‘हिन्दूमाथि हिन्दूले नै विभेद गरेपछि अब हामी न त मन्दिर जान सक्छौ, न त मस्जिद नै’, स्थानीय दलित विकास पथका अध्यक्ष शिवनारायण रामले भने । संविधानमै छुवाछुत र विभेदलाई जघन्य अपराधको रुपमा उल्लेख गरेपनि समाजमा अझै पनि रुढीबादी परम्परा हाबी रहँदा यस्ता घटनाहरु हुने गरेको उनको बुझाई छ । धर्मको आडमा दलित समुदायमाथि विभेद गर्नेहरुलाई कानुनी दायरामा नल्याउँदासम्म सुधार नहुने उनको अडान छ ।
शतचण्डी महायज्ञ मुल पूजा समितिमा पनि दलितलाई समावेश नगराइएको भन्दै अलौ निवासी ६४ वर्षीय जोधा रामको आपत्ती छ । महायज्ञ बनाउनका लागि दलित समुदायबाट चन्दासमेत नलिएको उनको आरोप छ ।
‘रामायणमा पनि छुवाछुत छैन, धर्ममा छुवाछुत र विभेद भन्ने कतैपनि छैन । तर धर्मकै आडमा विभेद गर्न खोज्नु भनेको धर्मलाई भाड्न खोज्नु हो’ हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता बिनोद प्रसाद कुर्मी बताउँछन् । ब्राह्मणवादकै उपज र रुढीवादी परम्पराकै कारण हिन्दू धर्म छोड्दै जाने र धर्म परिवर्तन गर्नेको संख्या बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘जुन जातको भएपनि मुस्लिम समुदायमा एकता भएजस्तै हिन्दूहरु पनि एक हुनुपर्छ । जातपातका आधारमा विभेद दण्डनीय हो, त्यसैले त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्छ’, कुर्मीले भने ।
मन्दिरमा र पूजामा बस्न पाउने सबैको अधिकार भएकाले यसबाट कसैलाई वञ्चित नगर्नका लागि हिन्दू परिषद् नेपाले पनि उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएको कुर्मीले बताए ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष सञ्जीव बहादुर क्षेत्रीले अपरिपक्व प्रतिक्रिया दिए । सामाजिक विषयका बारेमा समाजमै छलफल गर्नुपर्ने बताउँदै उनले लिखित रुपमा निवेदन आएमा मात्रै आफुले प्रक्रिया अघि बढाउने बताए । उनले भने, ‘पूजा मूल समिति छ, त्याहाँ पदाधीकार छन्, छलफल जारी छ, सहमती हुन्छ होला ।’ क्षेत्री आफै पनि महायज्ञ मूल पूजा समितिका सदस्य हुन् । उनको प्रतिक्रियाले उल्टै समितिको बचाउन गर्न खोजेको स्थानीयको भनाई छ ।
संसारीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रह्लाद चौधरीले पूजा स्थलमा दलित समुदायलाई प्रवेश गर्न नदिएको स्विकार गर्दै बरु जेल जान तयार रहेको बताए । पहिलैदेखि चल्दै आएको संस्कारबमोजिम मन्दिरमा दलित समुदायलाई प्रवेश गर्न नदिने मुल पूजा समितिका सदस्यसमेत रहेका चौधरीको अडान छ ।
उनले भने, ‘पहिलैदेखि हामीले सँगै गाउँमा घुमेपनि पूजामा भने सँगै बसाएका छैनौ, सँगै बसेर पूजा कहिलै पनि गरेका छैनौं र गर्दैनौं पनि ।’ अन्य ६ वटा टोलबाट चन्दा लिएको बताउँदै उनले दलित समुदायले चन्दा दिन खोज्दा नलिएको र यो यज्ञ समापन भएसँगै छलफल गरेर आगामी पूजादेखि गर्ने बारे छलफल गर्न सकिने चौधरीको तर्क छ । छुवाछुतलाई संविधानमा अपराधको रुपमा राखिएको हुँदा यस्तो गर्न नहुने बताउँदा उनले भने, ‘यदि यो अपराध हो भने बरु जेलमै भएपनि जाउँला, जहाँ भएपनि भात खाने हो, बरु जेलमै बसेर भात खाउँला ।’
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले यस विषयलाई त्यति गम्भिरताका साथ नलिएको पाइयो । शतचण्डी महायज्ञ मूल पूजा समितिको विरुद्धमा उजुरी दिन गएका अलौका दलित समुदायलाई उनले पूजामा सहभागी नभएपछि खबर गर्नु भनेर प्रतिक्रिया दिए । उक्त प्रतिक्रियाबाट असन्तुष्टी जनाई त्यहीँ उपस्थित सञ्चारकर्मीले दबाब दिएपछि सहायक प्रजिअ ढकालले पनि छिटै दुवै पक्षलाई बोलाएर छलफल गरी पूजामा सहभागी हुन नदिनेलाई कारवाही गर्ने आश्वासन दिएका छन् ।
जातीय भेदभाव तथा छुवाछुत ९कसुर र सजाय० ऐन, २०६८ ले जातीय विभेद तथा छुवाछुतजन्य कार्य आफै गर्ने तथा अरूमार्फत गराउने कुरालाई मात्रै निषेध गरेको छैन, भेदभाव तथा छुवाछुतजन्य निषेधित कार्यलाई समर्थन गर्ने, दुरुत्साहन गर्ने वा उकास्ने कार्यलाई समेत वर्जित गरी दण्डनीय बनाएको छ । सार्वजनिक तथा निजी दुवै स्थलमा जातीय भेदभाव वा छुवाछुतजन्य कार्य गरेको अवस्थामा ऐनअन्तर्गत फौजदारी दण्डको भागीदार बन्नुपर्ने व्यवस्था छ । ऐनको दफा ४ को उपदफा २ ९ख० मा व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहमा कुनै प्रकारको भेदभाव गर्न नहुने उल्लेख छ । भेदभाव गरेमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।